कविता – मेरी बहिनी देवी

विक्रम सुब्बा

उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो
यसपाली उ हप्ता-दश दिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरुको माझमा भट्याइरहेको जस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलबारीमा फूल टिप्न पसे जस्तो लाग्थ्यो
उसले दुःख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुँगा-थुँगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरु देख्दा
अनुहारको थालीमा जोर दियो बले जस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरु आवत-जावत गर्दा
चोखो कलशले फेरो हाले जस्तो लाग्थ्यो
उसले केही खाने कुराहरु दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारे जस्तो लाग्थ्यो
औँसीको दिन बिदा भएर रूँदै-रुँदै
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली पनि खलङ्गामा फेरि आन्दोलन चलेछ,
चेलीको खसमले गाउँमै वीरगति पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
बहिनीको उज्यालो पखेटा भएर पलाए जस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s