गजल-बाबा आमाले भन्या कुरा

-प्रदीपराज ढकाल

बाबाआमाले भन्या कुरा,टार्नु मैले कसोगरी ?
दिइ सकेको बचन त्यो,हार्नु मैले कसोगरी ?

जन्म दिइ हुर्काउनेको,सल्लाह नि ठिकै नै हो
तिनिहरुकै मनको इच्छा,मार्नु मैले कसोगरी ?

सुख दिने रोज्छौ भन्छन,रोजाइ मेरो भएन रे
ला’को माया अन्तैतिर, सार्नु मैले कसोगरी ?

संगै मर्ने संगै बाच्ने,खाएका ति कसम तोडी
बिचरी लाई सधै रुने ,पार्नु मैले कसोगरी ?

हाल -क्वालालम्पुर,मलेशिया

दीपावलीको शुभकामना

दाजुभाइ र दिदीबहिनी बिचको आत्मियताको पर्ब शुभ दीपावली २०६९ को शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली अनि नेपाली मनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |

-शब्दसारथी परिवार

गीत -भाईटिका थाप्ने रहर

संकल्प चन्द ठकुरी आँशु

भाईटिका थाप्ने रहर यसपालिनी मनमै रहयो |
नभएसि कमाई राम्रो घरमा जाने आशै मर्यो |

तिहार आयो ढकमक फुलहरु फुल्दै होलान
बहिनिहरु बाटो हेर्दै माँला पनि उन्दै होलान
भाई बहिनी हुनेहरु टिका थाप्दै रम्दै होलान
नआउने खबर सुन्दा मेराबहिनी रुदै होलान |

बर्षौ भयो प्रदेशमा गर्नु दु:ख गरेकै छु
गाँउमा सबै रम्दै होलान एक्लै यहाँ म रुँदैछु
साथी भाई गाँउमा फेरी देउसी भैलो खेल्दै होलान
त्यही देखेर बाबा आमा मलाई सम्झी रुदै होलान |

भाई टिका थाप्ने रहर यसपलिनी मनमै रहयो
नभयसि कमाई राम्रो घरमा जाने आशै मर्यो |

नेपालगंज नेपाल
हाल -युनाइटेड अरब इमिरेट्स दुबई

कविता – मेरी बहिनी देवी

विक्रम सुब्बा

उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो
यसपाली उ हप्ता-दश दिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरुको माझमा भट्याइरहेको जस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलबारीमा फूल टिप्न पसे जस्तो लाग्थ्यो
उसले दुःख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुँगा-थुँगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरु देख्दा
अनुहारको थालीमा जोर दियो बले जस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरु आवत-जावत गर्दा
चोखो कलशले फेरो हाले जस्तो लाग्थ्यो
उसले केही खाने कुराहरु दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारे जस्तो लाग्थ्यो
औँसीको दिन बिदा भएर रूँदै-रुँदै
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली पनि खलङ्गामा फेरि आन्दोलन चलेछ,
चेलीको खसमले गाउँमै वीरगति पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
बहिनीको उज्यालो पखेटा भएर पलाए जस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

गजल -मखमली

राज अविरल यात्री

भाईटिकामा गला गला , सुहाउँछ मखमली ।
यस् पाली नि मेरी बैनी , रुवाउँछ मखमली ।।

सप्तरंगी टिका सँगै , झन् गाढा हुन्छ नाता ।
थाली भरि सगुन त्यो खुवाउँछ मखमली ।।

आउँछु भन्दै परदेशमै , टाँरे धेर बर्षहरु ।
पर्खी बस्दा नयन सँगै , रसाउँछ मखमली ।।

अजम्बरी माया छर्दै नओईलेरै बाँच्छ यो ।
बैनी सम्म मेरो माया छुवाउँछ मखमली ।।

देउसी भैलो सम्झिएर , मन गाँवै तिर पुग्दा ।
साथी भाईको याद झन , जगाउँछ मखमली ।।

कन्याम ईलाम
हाल क्वालालम्पुर ।

सवाल जवाफ गजल -तिहार बिशेश

सवाल -शर्मिला सिग्देल “शरु”
जवाफ – राम कार्की चन्चल

शरु:
मेरो हात तिम्रो निधार,घर खाली भयो दाजु
झिलीमिली सारा बस्ती,शहर खाली भयो|

चन्चल:
लक्ष्मी जस्ती चेली हुदा,घर खाली हुन्न बैनी
हाँसी खुशी मलाई सम्झे,शहर खाली हुन्न बैनी|

शरु:
मखमली सयपत्री,कान्लै भरी फुले पनि
माइती तिमी प्रदेशमा,रहर खाली भयो दाजु|

चन्चल:
सयपत्री मखमली,टिपी माला गाँसी राख्नु
फोटोमा नै टिका लाउनू,रहर खाली हुन्न बैनी|

शरु:
आशा पाले अधुरो भो,सप्त रङी टिका लाउने
रुदै बस्ने यो बहिनीको,ठहर् खाली भयो दाजु|

चन्चल:
अर्को साल तिम्रो हातको,सप्त रङी टिका लाउला
आशा पाली कुरी बसे,ठहर् खाली हुन्न बैनी|

शरु:
लिङे पिङ देउसे देख्दा,तिम्रो झल्को आई दिन्छ
शुन्य भा’छ् बिहानीको,प्रहर खाली भयो दाजु|

चन्चल:
देउसी भैली खेल्न जानु,साथी सङी मिलीजुली
चाडबाडमा खुशी हुनु,प्रहर खाली हुन्न बैनी |
**************************************************

राम कार्की चन्चल
इटहरी ५ सुन्सरी
हाल :कतार

शर्मिला सिग्देल “शरु”
इटहरी ४ सुन्सरी
नेपाल

गजल -माला उन्दै बस्नु बैनी

– स्याङ्जाली रमेश

प्रबासमा धेरै बसे अब मुक्ति पाउछु होला |
माला उन्दै बस्नु बैनी टिकाकै दिन् आउछु होला|

धेरै गए तिहारहरु खाली निधार रोएर नै
यो वर्ष त हाँसिखुसी भाइटिका लाउँछु होला|

दह्रोगरी बाँधिराख्नु देउरालीमा लट्ठेपिङ
भन्दिए है दौँतरीलाई ! सँगै भैलो गाउँछु होला|

चुहिने थ्यो घरको छानो डाँडाभाटा मक्किए हुन्
चिन्ता छैन तिहारपछि म आफैँ नै छाउँछु होला|

स्याङ्जा,नेपाल
हाल -युएइ

गजल -देउशी भैलो

-कुमार श्रेष्ठ

देउशी भैलो लोक भाका नगाएरै मर्छु क्यारे
मठ मन्दिर पाटी पौवा नधाएरै मर्छु क्यारे

पसिनाको धारो छ नी सप्तरंगी लाउने निदार
म त दिदि सप्तरंगी नलाएरै मर्छु क्यारे

मरभुमी राप माथी प्यासी ओठ लिइ हिँड्छु
साग सिस्नु खोले फाँडो नखाएरै मर्छु क्यारे

भाइ टिका लगाएर दिदी तिम्रो मन्ले दिने
आशिर्वाद अनी माया नपाएरै मर्छु क्यारे

कर्तब्यवान् छोरा अनी आग्याकारी भाइ बनी
आफन्तको नजरमा नछाएरै मर्छु क्यारे

हाल -साउदी अरेबिया

गजल -बैनी तिम्रो हातको टिका

-नबराज नबोदित

बैनी तिम्रो हातको टिका लगाउने पक्का भयो |
बल्ल बल्ल छुट्टी मिल्यो म आउने पक्का भयो |

अमिलो भो दशैँ पनि भन्नु हुन्थ्यो बाबा आमा
संगै बसी अब तिहार मनाउने पक्का भयो |

उन्दै बस्नु सयपत्री मखमली फूलको माला
सुक्ने छैन गलाभरि सजाउने पक्का भयो |

बटुलेर बालापनका साथी संगी आँगनीमा
दीपावली गर्दै रम्ने रमाउने पक्का भयो |

धेरै भयो द्यौसी भैलो खेल्न पनि नपाएको
यसपाली त संगै नाच्ने नचाउने पक्का भयो |

गजल -सप्तरंगी टिका सुक्यो

गोबिन्द भाबुक

सप्तरंगी टिका सुक्यो मखमलि हेर्दै रोएँ
दिदी भन्ने चाह सबै मन भित्र बेर्दै रोएँ ।

यस्तै रैछ यो जूनिमा दिदी भाई भेट हुन
गुम्सिएका मनका भाव कागजमा केर्दै रोएँ ।

वल्लो घर पल्लो घर चेली आउँछन रंगिएर
आफ्नो निधार खाली बरै बेदनाले घेर्दै रोएँ ।

शत्रु नाश होउन भनी शिर माथि राख्ने हात
त्यै दिदिको कल्पनामा आफ्नै मुटु सेर्दै रोएँ ।

किन आयो पापी तिहार तीज पनि उस्तै भा’थ्यो
यो साल नि तड्पीएरै मनको धोको फेर्दै रोएँ ।