Monthly Archives: अगस्ट 2011

गजल-रोएँ बाबा

-राम कार्की ‘चन्चल’

दैब आई सारा खुशी,लुटेपछि रोएँ बाबा
पिपिरामै असिनाले,कुटेपछि रोएँ बाबा

सागरहरु सुके तर,आशुँ मेरा बगी रहे
ताते गर्दै हिंड्ने ती हात्,छुटेपछि रोएँ बाबा

नियती नि कस्तो दुष्ट,बालक काल मै एक्लो पार्ने
आमाका ती चुराहरु,फुटेपछि रोएँ बाबा

ढुङ्गा रोए तर मान्छे,हाँसी रहें दु:ख देख्दा
मेरा मनमा ज्वारभाटा,उठेपछि रोएँ बाबा

आफ्ना भन्ने टाढा भए,टुहुराको बासै उठ्यो
दु:खको त्यो खडेरीले,भुटेपछि रोएँ बाबा

इटहरी-५ ,सुनसरी
हाल-दोहा ,कतार

बालाई चिठ्ठी

-सुमन मञ्जरी

आदरणीय बा,
सादर नमस्कार ।।
समय जीवनको दैनिकी भएर आफ्नै रफ्तारमा कुदिरहँदा यो कुदाई एकैछिनलाई थाती राखेर तपाईंलाई यो पत्र लेख्दै छु। तीज आउँदै छ छोरीचेलीको चहलपहल बढ्दो छ । घरघरमा छोरीहरु माईती आउँद के कस्तो मिठो मसिनो ख्वाउने बाआमाहरुमा सर-सल्लाह हुँदै होला।
यस पालीको तीजमा म घर फर्किन्न पाउँदिन जस्तो छ। बेला बखत आमा गुनासो गर्नु हुन्थ्यो ” पहिले पहिले बिहे गरेर दिएकी छोरी मात्र पराई हुन्थी अहिले त बिहे नगरेकी छोरी पनि भेट्न पाईदैन” उहाँको गुनासो पनि ठिकै हो। तर, बा यो काठमान्डौ दलदल रहेँछ फसे पछी निस्कनै नसकिने । आमालाई दु:ख मनाउ नगर्न भनिदिनुहोस् र दसैंमा पक्कै आउँछे रे छोरी सुनाईदिनुहोला।
आज मलाई किन किन मेरो बाल्यकालको याद आउँदै छ बा। सानी छदाँ म असाध्यै ओर्‍याहा थिए/अहिले पनि छु। बेला बेलामा तिनै उपद्रोको बदलामा आमाको पिटाई भेट्थे । तपाईं घरमा नहुनु भएको बेला म आमालाई घुर्‍क्याउदै भन्थे’पर्खनुहोस न भरे बा आए’सी बालाई भन्दिन्छु के” यदी तपाईं घरमै हुनुहुन्थ्यो भने आँशु झरेका आँखा पुछ्दै म तपाईंकै नजिक पुग्थे सुक्सुकाउँदै, मलाई सधै आमाको गालि अनि पिटाईबाट बचाउनेमा पर्नु हुन्थ्यो तपाईं । काम बिशेष एक दिन मात्र पनि तपाईं घर बाहिर जानुहुन्थ्यो भने म असाध्यै नियास्रो मान्थे। मेरो न्याउरो अनुहारले आमालाई पनि नरमाईलो लाग्थ्यो,त्यसैले भन्नुहुन्थ्यो ”एई किन नुन खा’को कुखुरो जस्तो भा’कि? जा खेल्न, अर्को चोटि बा बाहिर जाने बेला तलाई पनि लैजान भन्दिउला किन रुन्चे हुन्छेस आईहाल्नु हुन्छ नि बा भरे सम्ममा त,यसको कसैको नभए को बाउ….” यी यस्तै के के भन्नु हुन्थ्यो म भेउ पाउँदिन थिए यती बुझ्दथे कि अर्को पल्ट बा बाहिर जानुहुदाँ म पनि उहाँ सँगै जान पाउँछु। त्यसै मख्ख पर्दथे,अब मलाई तपाईं कहिले आईपुग्नुहोला र अर्को पल्ट बाहिर जानुहोला भन्ने पर्खाई हुन्थ्यो। यी त भए म स्कुल थाल्नु भन्दा पहिलेका दिन ।
कक्षा एक मा घर नजिकै को स्कुलमा नाम लेखाईदिँदै तपाईंले भन्नुभएको थियो ”दाई दिदिले पढेका छन् पढ्नु पर्छ, नपढे सबैले हेप्छन, दुख पाईन्छ।” एक कक्षामा सिक्नुपर्ने क,ख मैले सिक्नु परेन कारण मैले क ख घरमै जानी सकेकी थिए,तपाईंले मलाई क ख, क का.. सबै सिकाईसक्नु भएको थियो। त्यसैले मैले त्यो बर्ष एक कक्षा नपढी म र मेरा भाईहरु(दाईको छोराहरु)मिलेर घर नजिकैको खोल्सामा स-साना माछा समात्दै छोड्ने,खोल्साको सानो पानी माथि बनमारा र सिमलीका सिर्कनाको पुल बनाउदै दिन बिताउँदै साँझ घर फर्केर भोक लाग्यो कि भोक लाग्यो भनेर तपाईंलाई सताउदैमा बिताए। अर्को साल तपाईंले फेरी दुई कक्षामा मेरो नाम लेखाईदिनुभयो । त्यो साल देखी म निरन्तर स्कुल जान थालेँ ।
प्राय: शनिबार घरबाट धान,गहुँ,मकै जे जे हुन्छ बोकेर गाउँका दाई,दिदी अनी भाउजुहरु देवीघाट जाने चलन थियो। बिहान घरबाट हिँडेर किनमेल अनी भेटघाट सकेर पुन:साँझ घरै फर्किन भ्याईन्थ्यो । बा तपाईंले पनि गाउँका दाईहरुलाई ज्याला दिएर धान बोकाई आफु सँगै गएर बेच्नु हुन्थ्यो अनी घरका लागि आवश्यक नुन,तेल,चिनी,चियपत्ती,जिरा,धनियाँ, सेतो(युरिया)मल तिनै दाईहरुलाई बोकाएर साँझ फर्कनु हुन्थ्यो। जब मैले म पनि जान्छु भनेर जिद्धी गर्न थाले एकाध पटक त हिंड्न सक्दिनस केटाकेटी छेस अहिले ठुली भए’सी लैजाउला भनेर टार्नु भयो तर मेरो जिद्धीपन अनी ”दिन भरी नुन खाको कुखुरो झै झोक्र’रार बस्छे सक्दिन म त्यो हेर्न लैजानुहोस्” आमाले भन्नुभएकै भरमा स्कुल छुट्टीको बेला तपाईं कतै जाँदा म पनि सँगै जान थाले । हाम्रो बजार अनी आफन्त भेटघाटका लागि भनेकै त्यै देवीघाट न हो , उस्तै परे कहिले कहीँ बट्टार र त्रिशुली सम्म ।
देबीघाट जान मरिहत्ते गर्नुको पछाडि एकाध कारणहरु छन जमध्ये प्रमुखत:मेरो त्यो उमेरका साथीहरु कोहीँ जान्थेनन,दाईदिदीहरुले बरफ,दुनोट खाएको,मटर देखेको कुरा खुबै सुनाउनु हुन्थ्यो स्कुलमा हरेक आईतबार । जब तपाईंसँग म देबिघाट जान थालेँ दाईदिदीले भने झै मटर दुनोट त थियो तर ती भन्दा पनि भिन्न कुरा मैले तपाईबाट जान्ने,बुझ्ने मौका पाए। यसरी मेरो बाल्यकालबाट सुरु भएको तपाईंसँगको देबिघाट यात्रा मैले SLC सकेर काठमान्डौ नपसे सम्म निरन्तर थियो ।
देबिघाट जादाँ आउँदा बाटोमा तपाईंले रामायाण,महाभारत,गीताका अनेकौ श्लोक र कथाहरु सुनाउनु हुन्थ्यो । बिच बिचमा अनेकैँ कुरा सोध्थे तपाईं सके सम्म मलाई बुझाउनु हुन्थ्यो। त्यस्तैमा एक दिन मैले तपाईंलाई सोधेको थिए ”बा तपाईंले कती कक्षा पढ्नु भएको ? अनी कती कक्षामा पुगेर मैले पनि यो कथाहरु पढ्ने ?” हाँस्दै तपाईंले भन्नु भएको थियो-”यो कथाहरु स्कुलाँ तिमेर्ले पढ्न पर्दैन यो त घरमै पढ्ने हो”
”अनी तपाईंले पनि घरैमा पढ्नुभा’को हो र?? स्कुलै नगई?? त्यसो भए म पनि स्कुल जान्न घरैमा पढ्छु के” मैले कती जिद्धी गरेकी थिए है बा ।
”हाम्राँ पाला अहिले जस्तो जता ततै स्कुल थिएन,पढ्न गुरुकोमा जानु पर्थ्यो त्यो पनि जगंलमा, गए पछी १२/१३ बर्ष घर फर्किन पाईदैन थियो, म बाको कान्छो छोरो अनी फेरी साना अली बिरामी धेरै हुने थिए रे अनी बाले मलाई घरैमा पढाउनु भा’ अहिले त नजिकै स्कुल छ बिहान् गए बेलुका आउँन पाईन्छ, किन पढ्न नजाने’नी ?? जानुपर्छ घरमा पढ्ने कुरा म पढाउँला स्कुल पनि पढ्नु हुन्छ ??” तपाईंले यती भने पछी बल्ल मैले ‘हुन्छ’ भनेकी थिए ।” यस्तै कुरा गर्दै ब्यान भरी अनी दिन भरीको बाटो कटाउँदै साँझ घर पुगिन्थ्यो ।
हजुरबा बिख्यात पण्डित हुनुहुन्थ्यो र त उहाँले नै तपाईंलाई कतै नपठाई आँफैले घरैमा पढाउनुभयो। त्यसरी पढेकै भरमा तपाईंले गीता,चण्डी,बेद जस्ता थुप्रै ग्रन्थ पढ्नु भयो र मलाई पनि महाभारत,रामायाण, सत्यनारायणको पूजामा सुनाईने कथा, तीजको ब्रत बसेका आमादिदीहरुलाई सुनाईने कथा,ठुलो एकादशीको कथा,शिवरात्रीको कथा अनी अरु थुप्रै कथाहरु सुनाउनु भयो, जुन आज सम्म पनि मलाई जस्ताको त्यस्तै याद छ ।
पाखो बारी धेरै भएकाले हामीलाई बनमा घाँस दाउरा खोज्न जानु आवश्यक थिएन। र पनि बनमा कटुस,तीँदु,जामुन,बनतरुल,थाकल,चिउरी आदी पाईन्छ भन्ने सुनेपछी मैले तपाईंलाई यी सबैको ’boutमा सोधेकी थिए।मौसम अनुसार यी सबै कन्दमुल बनमा पाईन्छन् भन्नु भए पछी मैले तपाईंलाई सताउनु सताए बन लगिदिनुहोस् भनेर। ”आ नानी कती कचकच गर्छेस,धेरै नचेप्री है अहिले ठ्याम्म बजाउला नि भन्नु हुन्थ्यो” तर मैले मान्ने भा’पो,भातै छोड्दिन्थे। अनी, नलगीदिएरै सुखै थिएन।दिन भरी बन डुलेर देखे जत्ती कन्दमुल लुगामा पोको पार्दै, तपाईंलाई कथा भन्न लगाउँदै घर फर्के पछी मलाई लाग्थ्यो, मेरा बा’ले नजान्नु भएको,नदेख्नु भएको केही छैन होला। म मनमनै मख्ख पर्थे तपाईं सम्झेर अनी स्कुलमा फुर्ती पनि लाईहाल्थे,कि म त बा सँग यहाँ यहाँ गए, यस्तो खाए, यस्तो कथा सुने आदी आदी, साथीहरु चुकचुकाउथें कारण उनिहरु आफ्ना बा सँग खुब डराउथे। यदाकता भन्थे पनि कि ”मलाई त बा’ले पिटेँ”मा छक्क पर्थे तिनिहरुका कुरा सुनेर । अनी मख्ख पर्थे आफ्ना बा सम्झेर।
गाउँमा कहीँ पूजा हुँदा या कसैको बिहेँ हुँदा मेरा साथीहरु बाले जानै दिनुहुन्न के जानु? भन्थे उनिहरुमा जान नपाउनुको पिडा हुन्थ्यो। मलाई भने जान मन लाग्दा रोकतोक थिएन। तर,म जानै चाहन्न थेँ। कतै आफन्त कहाँ कुनै कार्जे पर्दा आमाले ”हिँड/जा भन्नु हुन्थ्यो’। आमाले कर गर्नुहुँदा तपाईंले नै ”छोड्दे न त छोड्दे अब जान्न भने नजाओस किन कर गर्छेस” भनेर मलाई ढाडस दिनुहुन्थ्यो । बा त्यती बेला मलाई लाग्थ्यो साँच्चै यो दुनियाँमा तपाईं जत्ती जाती कोई छैनन। आमा सधैं भन्नुहुन्थ्यो/भन्नुहुन्छ यी बाउ छोरी सँग मेरो केही लाग्दैन,एक मुख छन। हुन पनि सबैले भन्थे यो त बाउ गोता गएकी छ,रुप,रङ ह्याँ न दुरुस्तै बाउ” यस्तो सुन्दा म निक्कै मख्ख पर्थे म त मेरो बा जस्तै छु सम्झेर।
बा तपाईं मेरो लागि जिउँदो विश्वविद्यालय हुनुहुन्छ। मैले तपाईंबाट धेरै सिक्नु छ। सानै देखीको एउटै धोको तपाईं जस्तै बन्ने जुन पुरा गर्न तपाईंले नै मलाई सहयोग गरिरहनु भएको छ। तपाईंकै प्रेरणाले गर्दा मैले पढाई सुरु गरेपछि अहिले सम्म असफलता भोग्नु परेको छैन।हिजो आज पनि जब मलाई केही अप्ठ्यारो पर्छ सबै भन्दा पहिले मैले सम्झने व्यक्ती तपाईं नै हुनुहुन्छ। त्यस पछी आमा,दिदी,साथि आदी आदी….
यो शहर ज्यादै निर्दयी छ बा, यहाँ छेउमा पर्दा लडिएला भनेर समात्ने हात पाईदैन,उल्टै घचेट्छन। यहाँ जरुवाको जस्तो चिसो र मिठो पानी पाईदैन बा, यहाँ त तातो पानी पाईन्छ पोटास मिसाएको, त्यै पनि दिनै कहाँ आउँछ र हप्ता दिन कुर्नु पर्छ पानी आउँन । मेरो मन यो शहरमा अडिएला जस्तो छैन बा । हरेक रात सपनामा गाउँ पुग्छु अचेल।त्यै दाबिले डाँडो,कार्तिके पखेरो, खरे खोल्सो,खोरियो र भारीबाध्ने पाखो झल्झली सम्झन्छु। तपाईंले दिनुभएको गुरु वचन भुलेकी छैन अनी भुल्ने दुसाहस पनि गर्ने छैन।

फेरी एक पटक चिउरी र तिदुँ फल्ने बेलामा तपाईंसँगै बन चहार्नु छ। बन चारेर गोडा दुख्यो भन्दा आमाको गाली खाने मन छ। डल्ले गोरु,लक्ष्मीगाई,अनी सिँगारी बाख्रो लिएर गोठालो गई व्याधाको कथा(शिवरात्रीको पूजामा भनिने कथाको पात्र),चन्द्रमाको कथा (चन्द्रमामा दाग लागेको प्रसँगसँग जोडेर भनिने कथा विशेष गणेश चौथीको महत्त्व सँग जोडेर हेरिन्छ ),सुगाको कथा(रामायाणको एक प्रसँग) सुन्ने मन छ । गीता सार फेरी सम्झनु छ । छोरीले बिर्सी अब हुर्केपछी भने झै लाग्दो होला तपाईंलाई मैले केही बिर्सेंकी छैन बा, बाल्यकाल देखी अहिले सम्मका एक एक घटना याद छ । यो काठमाडौँले मलाई अल्मल्याएको मात्रै हो । पढाई पनि अब त दुई बर्ष मात्रै बाँकी छ । सकेर छिट्टै गाउँ आउने छु बा म । ल त बा आजलाई यति नै…. बाँकी अर्को चिठ्ठीमा…

तपाईंकी छोरी,

खुसी मान्यौ तिम्ले

-विद्या सापकोटा

गजल

खुसी मान्यौ तिम्ले त्यसै मैन बनी बलिदिएँ
तिमी खुल्यौ उज्यालोमा आफू जल्नु जलिदिएँ ।।

मदहोश अनौठो त्यो सम्मोहनी तिम्रा आँखा
चल्दा जादु लगातार इसारा मै गलिदिएँ ।।

व्यथा बन्यो बिचित्रको अरुभित्र आफू खोज्ने
खोज्दा-खोज्दै जित्यौ तिम्ले जानाजान ढलिदिएँ ।।

तेज गति धड्कनको मीठा-मीठा आभासमा
धड्किरह्यौ तिमी भित्र आफैंलाई छलिदिएँ ।।

फेरिदो त्यो ऋतुसँगै बदल्दिदा तिम्ले मन
किन गर्थे झर्कोफर्को चूपचाप चलिदिएँ ।।

काठमाडौँ

गाइजात्रे झटारो “चम्किलो प्रतिबिम्ब”

-नवीन लामा `सुरेश`

पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ?
आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ?
नाताबाद र कृपाबादको खास्टो ओढाएर
ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ ?

हे प्रभु हे ईश्वर रक्षा गर है तिमीले नियतीको कालो बादल मडारिँदैछ
जन्म जातै मुर्ती बनेर बाँचेको तिमी के रक्षा गर्छौ होला र ?
मुर्ती र तस्बिरमा आफ्नो अस्तित्व खोज्दै भौतारी रहेका छौ
बेबस अबलाको अस्तित्व के बचाउँछौ होला र ?
आफ्नै अस्तित्वको टुङ्गो नभाको तिमी र तिम्रो बयान म के गरुँ ?

धर्तीमा आफ्नो स्थान नभएको मुलाले आकाशमा उड्ने सपना देख्नु
अनी बिचारा ति संबिधान कुन किसिमको धान हो
भन्ने थाहा नभएका सभासदले हाम्रो देशको संबिधान लेख्नु
भनेको जूनकिरीको पिल पिल प्रकाशमा मोती खोजे झै हो ।
बिच सडक सभा हल दिन दहाडै भकुर्याइ खाने
महान हस्तीहरुको बयान म के गरुँ ?

बालुवामा सुन खोजे जस्तो कहाँ गाह्रो रैछ र
घर घरमै भेटिने सभासदहरु
मनकामनामा बोकाको बली भन्छन्
सत्ताको धारमा रेटिने जनताहरु!
“एउटै गोठका भेडा” हाम्रो नेपालको जनताहरु
अब त्यो गोठ मालिकको बयान म के गरुँ ?

अब त मलाई पनि प्रधानमन्त्री बन्ने इच्छा लाग्दैछ
छन् कोही आँटी बाबुका खाटी छोरा
हान्देओ न हो मलाई पनि एक दुइ झापड गालामा
पुरानाहरुले केहि गर्न सकेनन् अनि हेर्नुस् बिकास मेरो पालामा!
दिन दुगुना रात चौगुना देशको बिकास म गर्नेछु
झट्टै फलिफाप होस् सराप नलागोस् !! अब आफ्नै बयान म के गरुँ ?

“पृथ्वीनगर १ झापा नेपाल”

कुन्नि कतिखेर

-ज्योतिपुन्ज सुरेश

गजल

मिठो हावा भित्र पस्यो, कुन्नि कतिखेर!
थाहा छैन माया बस्यो, कुन्नि कतिखेर!

उड्न मन लाग्न छाड्यो, प्वाँखै भएपनि,
बन्धन यो मिठो कस्यो, कुन्नि कतिखेर!

एक्लै हिजो धेरै रोएँ, आज कसैसँग,
सँगै हाँस्दा आँसु खस्यो, कुन्नि कतिखेर!

बाँच्न सिकेँ अझ धेरै, बिषै भनुँभने
सम्झनाले यति डस्यो, कुन्नि कतिखेर!

उज्यालो यो यस्तो आयो,तरङ्ग नै ल्यायो
तलाउमा जुन फस्यो, कुन्नि कतिखेर!

कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा

-हेमन्त परदेशी

कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु प्रकाशन भइसकेका छन् । जसमध्ये कान्तिपुरकर्मी देवन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’ले नेपाली वाङ्मयमा छुट्टै स्थान कायम गरेको कुरा समेत सर्वविदितै छ भने बाँकी कृतिहरुमा लक्ष्य एक गोरेटो अनेक (उपन्यास)२०६२ -हेमन्त परदेशी, समयका घुम्तीहरु (उपन्यास)२०६४-हेमन्त परदेशी, निर्धो मलामी (मुक्तक संग्रह)२०६५ -दुर्गा भुसाल, जिन्दगीका मोडहरु (गीति संग्रह)२०६५ –भानु सुनुवार, अदृष्यका प्रतिबिम्ब (कविता संग्रह)२०६५ –महेन्द्र अदृष्य राई, आस्थाका फूलहरु (गजल संग्रह)२०६५ –प्रबल बिष्ट, चीरसव (कथा संग्रह) सेलिंग केसी -२०६६, मरुभूमिका साहित्यिक यात्रा (रचना संग्रह) २०६६ –सम्पादन कृष्ण क्षितिज राई, दश रुपैयाँ चाराना (लघु उपन्यास)२०६६–सायदश्री, अनुभूतिका बिम्बहरु (कथा संग्रह)२०६६-हेमन्त परदेशी, प्रबासी संगालो संगम अनि सहयात्रीहरु (रचनाहरुको संगालो) २०६६ –तीर्थ संगम राई र साथीहरु, टुहुरो बस्तीको कथा (खण्ड काब्य) २०६७ –बद्रीप्रसाद पराजुली र मेरी युनीमा (कविता संग्रह)२०६८ –युग योगी राई रहेका छन् ।

यी बाहेक पनि यहाँबाट अरु थुप्रै कृतिहरु प्रकाशन भएका छन् । यद्यपि प्रकाशित कृतिहरु र श्रष्टाहरुको अभिलेख राख्ने कुनै पनि निकाय नभएकाले ती सबै ओझेलमा परेका छन् / परि रहेका छन् । त्यति मात्रै होइन खाडीको आवाज, मरुभूमि मासिक, सेमी फक्ताङ्लुङ्ग, मुग्लानी सौगात लगायतका विविध पत्र-पत्रिकाहरु समेत विभिन्न समयमा विभिन्न उद्धेष्य बोकेर प्रकाशन भएका / भइरहेका छन् । जसलाई यो छोटो लेखमा चर्चा गर्न सम्भव छैन ।

नेपालका खरो लेखक भनेर चिनिने साहित्यकार एवं स्तम्भकार खगेन्द्र संग्रौलाले कुनै बेला यौटा प्रसंगमा तीन लाख नेपालीमा छ लाख कवि भएको देश भनेर आफ्नो अभिव्यक्ति पस्कनु भएको कतार भन्दा बाहिर रहनु भएका अधिकांश सर्जक मित्रहरुले समेत मलाई सधैँ यौटै कुरा गर्नु हुन्छ कि, ‘कतारमा जति धेरै सर्जकहरु अन्यत्र कहीं छैनन् ।‘ र, उपस्थिति र संलग्नताको दृष्टिले हेर्दा उहाँहरुको यो अनुमानमा पनि केही सत्यता रहेको देखिन्छ । यद्यपि कतार भन्दा बाहिरका श्रष्टा / सर्जकहरुले सोचे / भने जस्तो यहाँको साहित्यिक अवस्था छ भन्ने कुराको प्रमाणिक तथ्यहरु भने हामीसंग केही नै छैनन् । यो यौटा अत्यन्तै दुखद कुरा हो ।

हो, यहाँ प्रसस्तै साहित्यिक गतिबिधिहरु संचालन हुने गर्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक मोबाईल पुस्तकालय र नवोदित साहित्यिक वाचनालय जस्ता कृयाशील साहित्यिक संस्थाहरु यहाँको साहित्यिक बिकाश र प्रबर्द्धनका लागि लागि परेको देख्दा मन अति हर्षित पनि हुन्छ । तर, यतिले मात्रै नेपाली भाषा र साहित्यको सर्बाङ्गिण बिकाश सम्भव छैन भन्ने कुरा हामीले अझै पनि आत्मबोध गर्न सकिरहेका छैनौं ।

स्वाभावैले साहित्यिक संघ संस्थाहरुले श्रष्टा एवं सर्जकहरुलाई यौटा ‘प्लेटफर्म’ मात्रै दिने हो र कतार जस्तो मुलुकमा यस्तो वाताबरण निर्माण गरि दिने सबै संघ संस्थाहरु धन्यबादका पात्र पनि हुन् । यद्यपि ‘प्लेटफर्म’ बनेर / बनाएर मात्रै के गर्ने ? जब कि हामी श्रष्टा सर्जकहरुलाई नै आफ्नो सिर्जना माथि आत्मविश्वास छैन । म के लेख्दैछु? किन लेख्दैछु? के का लागि लेख्दैछु? अनि मैले आफ्नो सिर्जना मार्फत समाजलाई / राष्ट्रलाई के दिन खोज्दैछु ?भन्ने सामान्य बिषयहरुमा समेत अनविज्ञ रहेर सिर्जना गरिएका / भएका साहित्यको मूल्य के नै हुन्छ र?

मैले साहित्यको मापदण्डको कुरा उठाउन चाहेको होइन । यद्यपि लामो समयदेखि यस श्रमिक डायास्पोरामा रहेर लेखिएका / प्रकाशन गरिएका कृतिहरु अध्ययन अनुसन्धान गरेको मेरो आफ्नै अनुभवले यति बोल्न चाहिँ कर लगाएरै छाड्यो कि, हाम्रा अधिकांश सर्जकहरुले साहित्यलाई व्यक्तिगत दुख: पोख्ने यौटा भरपर्दो माध्यम मात्रै बनाइरहनु भएको छ । यो अबको नवोदित पुस्ताले मसीमा कलम चोब्नु अघि मनन गर्नै पर्ने बिषय हो ।

त्यसो त, यौटा सुनौलो भविष्य निर्माण गर्ने सपनामा भएका सप्पै जायजेथा मानव तस्करहरुलाई जिम्मा लगाएर बिदेशी भूमि टेकेकै दिन ऊँट र भेडा गोठालो गर्न ५५ डिग्रीको उष्णतामा मरुभूमिको पल्लो कुनामा फालिनु पर्दा अथवा सडक र अग्ला अग्ला गगनचुम्बी भवनहरुको निर्माणमा अनपेक्षित रुपमा रगत-पसिना पसिना बगाउनु पर्दा कसको चित्त काटिदैन होला र? अझ आफ्नो घर र परीवारका खातिर हत्केलामा ज्यान राखेर श्रम बेचिरहेको बेला उता घरदेशमा आफ्नै आधा शरीरले आफूलाई जिउँदै चपरी मुनि लगाएको खबर सुन्दा कसको भक्कानो फुट्दैन होला? बाबा आमाको सेवा गर्ने मनोकांक्षामा पाई पाई पसिनाको मूल्य बटुलिरहेको बेला धागोले बाँधेको चिट्ठी टुप्लुक्कै अईपुग्दाको नियति कस्तो होला? हामी सजिलै कल्पना गर्न सक्छौं र यसरी भक्कानिने मनहरु, चोइटिने सपनाहरु र टुक्रिने बिश्वासहरु शब्दहरुमा पोखिनु पनि स्वाभाविक नै हो । यद्यपि हामीले मनन गर्नै पर्ने यौटा महत्वपूर्ण कुरा चाहिँ के हो भने त्यसरी पोखिने शब्दभावहरुले ओगट्ने परिधि कति हुन्छ? यदि त्यसको परिधिले आफूलाई मात्रै नभई संगैको साथी, छरछिमेकी, गाउँ-टोल, समाज र त्यस भन्दा अलिक परसम्मका मान्छेहरुलाई समेत छुन सक्यो भने त्यसमा अलिकति मात्रै भए पनि साहित्यिक गन्धको अनुभूत गर्न सकिन्छ । अन्यथा त्यो आफ्नै व्यक्तिगत गनगन र गन्थन बाहेक अरु केही हुँदैन ।

प्रसंग कतारी श्रमिक डायास्पोरामा हामीले सिर्जना गरिरहेका, सुनाई रहेका र सुनिरहेका सिर्जनाहरुको हो । हामी अधिकांश सर्जकहरु आफ्नै वा अरु कसैको श्रीमती पोईल गएको / जाने घटनालाई गीत-गजलमा पस्कन्छौँ, विदेश पठाउने बहानामा दलालले ठगेको रीस कवितामा पोख्छौँ अथवा देश बिगार्ने नेताहरुको बिरुद्दमा दुई-चार ओटा गाली यस्तै यस्तै सिर्जनाहरु मार्फत पोख्छौँ र, सबैको वाह वाही पाएर मख्ख पर्छौँ। तर, हामीलाई नै थाहा हुँदैन कि, आफूले प्रस्तुत गरेका सिर्जनाहरुबाट श्रोताहरुले के पाए? त्यसले उनीहरुको जीवनमा के फरक पार्यो / पार्न सक्छ? यदि हामीले यी र यस्ता कुराहरुलाई किनारा लगाउने हो र साहित्यलाई व्यक्तिगततामा सीमित पारेर केवल मनोरन्जनको साधन मात्रै बनाउने हो भने सप्पै भन्दा सजिलो र उपयुक्त बिधा प्यारोडी गीत नै हुनेछ भन्नुमा कुनै अतिशयोक्ति हुँदैन ।

मैले यहाँ उठाउन खोजेको मूल मुद्धा भनेको के हो भने हामीले हिजो जे जस्तो परिस्थितिमा जे जति साहित्यिक सिर्जनाहरु गर्यौं र आ-आफ्ना पाठकहरुमाझ पस्क्यौँ ती आज र अबका दिनमा पर्याप्त छैनन् / हुँदैनन् । साहित्यप्रतिको बौद्धिक पाठकहरुको बढ्दो चासो र डायास्पोरिक साहित्यिक अवधारणाको बिकाशसंगै अब हामीले पनि एक कदम अघि बढ्ने हिम्मत गर्नु पर्ने समय आइपुगेको छ । उसो र अब गीत-गजल लेखेर मात्रै हुँदैन, कविता भट्याएर मात्रै पनि हुँदैन न त आख्यानको नाममा पाठकहरुलाई पलभरको लागि अल्मलाएर नै हुन्छ । अबका हरेक बिधाका सिर्जनाहरुमा जीवन र जगतलाई नियाल्ने यौटा गतिलो दृष्टिकोणको अबलम्बन गर्न नितान्त जरुरी छ ।

बेलायतमा बसेर कथा लेख्ने कथाकार जया राईको कथा ‘बेकर स्ट्रिटको दुई आँखा’माथि त्रि.बि.मा एम.फिल.मा थेसिस लेखिन्छ भने कतारमा बसेर साहित्य सिर्जना गर्ने हामी कसैको कुनै पनि बिधाको कृतिमाथि कुनै न कुनै तहमा थेसिस लेख्न योग्य किन नबनाउने? कतारी डायास्पोराका सर्जकहरुले बेलैमा चिन्तन गरेर साहित्यको गुणात्मक पक्षमा ध्यान दिन जरुरी छ ।

हो, अबको साहित्य गुणात्मक हुनु पर्छ । साहित्य समाजको दर्पण समेत भएको हुनाले हरेक बिधाका सिर्जनाहरूले समाज र राष्ट्रलाई केही न केही दिनु पर्छ / दिन सक्नु पर्छ । शब्दहरु जोड जाड गरेर पुस्तकाकार बनाउँदैमा कुनै पनि कृति असली कृति हुन सक्दैन भन्ने कुरालाई अन्तरहृदयदेखि नै आत्मसात गरेर अघि नबढे सम्म हामीले साहित्य सिर्जनामा लगानी गरेका समय, बौद्धिक कसरत र आर्थिक लगानी सप्पै सप्पै कुरा त्यसै खेर जानेछ ।

हामीले अभाव र गरीबीका थुप्रै कथा-कहानी लेख्यौं / लेखिरहेका छौं । देश बिग्रिएको चिन्ता पोख्यौ / पोखिरहेका छौं । स्वाधिनता लुटिएका नाराहरु उराल्यौ / उरालिरहेका छौं । मिलन र बिछोडका बखानहरु गर्यौं / गरिरहेका छौं । तर, यति लेखेर मात्रै अब हामीले उम्कन पाउने छैनौं । हाम्रा बाहिरी आँखाले देखेका कुराहरु शब्दहरुमा पोखेर मात्रै हाम्रो लेखकीय जिम्मेवारी पुरा हुने छैन । हामीले त त्यस्ता अदृष्य एवं रहस्यमय चिजहरुको खोजतलास र अन्वेषण गर्नु पर्छ जुन चिजहरु जीवन र जगतलाई अति आवश्यक हुँदा हुँदै पनि आम मानव समुदायले चिन्न, भेट्न र उपयोग गर्न सकिरहेका छैनन् ।

सन्दर्भबस कुरा ओकल्नु पर्दा दोहाका सर्जकहरुसितको हरेक भेटमा मैले दिदै आइरहेको यौटै समसामयिक उदाहरण नेपालको अनिर्मित एवं अनिर्णित संबिधान पनि हो । म सित साक्षात्कार गर्नु भएका सबै सर्जक मित्रहरुले मेरो यो दृष्टान्त सुनि सक्नु भएकै छ र जोसंग बिबिध कारणबस मेरो साक्षात्कार हुन सकेको छैन उहाँहरुलाई पनि म यसै लेख मार्फत के भन्न चाहन्छु भने नेपालमा संबिधान बन्न नसकेको कुरालाई कवितामा उतार्नु भनेको कविता लेख्नु नभई भाँडाकुटि खेल्ने रहर गरि टोपल्नु मात्रै हो । किन भने समयमा संबिधान निर्माण नगरेर सम्बन्धित पक्षहरुले देशलाई यौटा दुर्दशातिर धकेलिरहेका छन् भन्ने कुरा थाहा नपाउने र नबुझ्ने आम नागरीकहरु सायदै छन् अहिले । अर्थात, त्यो त मेरी ६८ बर्षकी वृद्धा आमालाई समेत थाहा भएकै कुरा हो नि । तर, असली कुरा चाहिँ यो हो कि, मेरी वृद्धा आमालाई संबिधान निर्माण हुन नसक्नुको अदृष्य कारण र त्यसको बैकल्पिक सामाधानको उपायका ’boutमा चाहिँ पक्कै पनि थाहा छैन । उसो र हामीले उहाँ जस्ता आम नागरीकहरुलाई यस कुराको बोध गराउने प्रयास गर्नु पर्छ र त्यो प्रयासलाई सार्थक बनाउँन आफ्नो बौद्धिक चिन्तन र चेतनाको प्रयोग / उपयोग गर्नु पर्छ । एक अर्थमा भन्ने हो भने साहित्य सिर्जना गर्नु भनेको दृष्यमा ठोकिएका बस्तुहरुलाई औल्याएर दूरदृष्टिताको गफ हाँक्नु होइन न त आफ्नै वरिपरिको परिवेश र जीवनबाट अलग्गाएर चन्द्रमा र मंगलग्रहको कोरा काल्पनिक बखान गर्नु नै हो ।

वास्तबमा साहित्य त त्यो हो जसले आम मानिसहरुलाई स्वस्थ र स्वच्छ मनोरंजन दिंदै जीवन र जगतको उन्मुक्तिका लागि चेतनाको बिगूल फुकोस्, शिष्ट, सभ्य र समृद्ध समाजको निर्माणका लागि एउटा इँटा थपोस् र देश र जनताका भलाईका निम्ति समस्याको पहिचान र समाधानका विकल्पहरु दिन सकोस् ।

अन्त्यमा यीनै आधारभूत सिद्धान्तहरुको प्रयोग र उपयोग गर्दै आगामी दिनहरुमा हिजो र आजको भन्दा अझ सबल, सक्षम र परिष्कृत सिर्जनाहरु पस्किने जमर्को गरौँ, जुन कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहासको कोशे ढुंगा साबित हुन सकोस् । यही कामनाका साथ सम्पूर्ण समकालीन एवं नव सर्जक मित्रहरु समक्ष यो आलेख समर्पण गर्दछु ।

कै`ले न्यानो घाम

सन्तोश सिटौला

गजल

कै`ले न्यानो घाम कै’ले तुषारोमा जिन्दगी छ
मन्को दीप बाली खोज्नु अँध्यारोमा जिन्दगी छ । ।

अमुल्य यो जिवनको मुल्य त्यसै कहाँ चुक्छ ?
गर्नु सेवा दु:खी जनको उधारोमा जिन्दगी छ । ।

प्रेमीकाको मुस्कान हेर्न गमलाको गुलाब हैन
भिरको फूल टिपी दिनु अप्ठ्यारोमा जिन्दगी छ । ।

खुकुलिन्छ पोया अनि चुडिँएर जान्छ डोरी
मृत्यू सँग गाँसिएको जोतारोमा जिन्दगी छ!!

“झापा नेपाल ”

कस्तो भयो हाम्रो नाता

रुद्र प्रभात

गजल

कस्तो भयो हाम्रो नाता संकटमा परी रा’छ
हर मौषम हर मास आशु बनि झरी रा’छ|

साथ माग्छ त्यो मनले सधै भरी त्यसै गरी
मेरो पनि मन फेरि त्यतै तिर सरी रा’छ|

कस्ले सक्थ्यो छुटाउन आकाश अनि बादललाई
हाम्रो पनि मनले माया त्यसरी नै गरी रा’छ|

नछुटाउन सक्छौ हामि नत जोड्न सकिराछौ
आ आपसमा माया प्रेम मुटु भित्र भरी रा’छ|

नचाहेर पनि नाता बदलियो प्रेमलापमा
टाडा हुन्छु भन्दा मुटु झनै नजिक सरी रा’छ|

इलाम ,नेपाल