छोरीलाई….


-सुरक्षा श्रेष्ठ

कविता

पोहोर परार जस्तो लाग्छ
मेरो फरियाको टुप्पोमै संसार देख्ने
त्यों कलिलो बच्ची
ताराबाजी लै लै अनि
चीं मुसी चीं खेल्दा
मेरो हातमा
काउकुती लाग्ने 
त्यों सुकोमल औंला
आज अति महत्वपूर्ण
सम्बन्धको औंठी लगाउन जाँदैछ रे!
आँखाको झिम्काई संगै
समय सुटुक्क हात हल्लाई 
त्यों भकुंडे डाँडामा
ओझेल परि पो सकेछ त
झसंग हुन्छ म
अर्को पिरियड को घंटीसंगै/

बधाई र आशिस छ छोरी
पबित्र बन्धनमा बाँधिन जाँदैछौ
त्यों सम्बन्ध
एक ईश्वरीय कल्पबृक्ष हो
नित्य पूजा गर्नु त्येसलाई
माया प्रेमको जल चढाएर
बिस्वासको फूल अक्षता छर्कदै
झलमल्ल पार्नु
आत्मीयताको श्रीखंड लेप लगाऊँदै
समझदारीको नैवेद्य अर्पण गरेर
समर्पणको धुप बत्ती जलाऊँदै
सुबाशित पार्नु 
अनि
आरती गाऊँदै जानु/

ओइलिन, हल्लिन र सुक्न
कदापि नदिनु त्यों बृक्ष लाई
निस्वार्थ प्रेमको टेवा दिई
आस्थाको उकेरा लगाईं
मलजल र गोडमेल गर्दै जानु 
ताकि
आजिबन हराभरा भै
फुल्न सकोस
लहलहाउदै
झांगिन  सकोस/

जीबन हो,
बिजुली चम्किन सक्छ
हुरी लाग्न अनि खडेरी पर्न पनि सक्छ
आपसी माया प्रेमको अगाडी
शिर झुकाई जानेछ्न ती सब/

आशा छ
नयाँ अध्यायसंगै
जाँगर, अध्ययन,
काम र शिपमा पूर्ण बिराम लाग्न दिनेछैनौ//

टिप्पणी छोड्नुहोस्