Daily Archives: फ्रेवुअरी 21, 2011

अनेक

फणिन्द्र गिरी ”शान्त”

गजल

बडा राजा मर्यो के भो?, छोटा राजा अनेक
यो देशको ढिकुटी त, भयो खाजा अनेक ।।

बुद्ध बस्ती शान्ति क्षेत्र, इतिहास मात्रै
जता ततै घन्केको छ, द्वन्द बाजा अनेक ।।

छैन कतै खाने दानो, कतै अन्न फालि
भाषणमा समान्ताका, नारा साझा अनेक ।।

मुखमा छ राम नाम, बगलीमा छुरा
श्रिखण्डको बार हालि, खेती गाँजा अनेक ।।

पीडा साँचि रुन्चे हाँसो, कसरी पो हाँस्नु
हाँस्न खोजे चर्कन्छ झन्, घाऊ ताजा अनेक ।।

कविता-जबर्जस्त साझा नियती


– गणेश खड्का

माझीको घरमा माछाको कोशेली बोकेर
भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा
ग्वारग्वारती लश्किने लवस्तराहरु
हास्यास्पद !

भट्टिमा रक्सीको सगुन भित्र्याएर
रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा
बेशरम ओईरिरहने गतिछाडाहरु
लज्जास्पद !

के परम्परा धान्न खोजेका हुन् ?
के रितिरिवाज मान्न चाहेका हुन् ?
सधैं,जोगीको घरमा सन्यासी पाहुना
यो रमिता-
देखेर हैरान – तिमी
बुझेर वाक्क – म
भोगेर दिक्क – हामी ।

यहाँ,-
एउटै जातको रक्सीलाई पालै-पालो
झकिझकाउ शो-केशमा सजाइन्छ
नयाँ-नयाँ अनुहारका बोतलहरु फेर्दै
जोगीहरु रक्सीको निम्ती ” फेरी ” लाउँछन्
साधुहरु गाँजा,भाङ,धतुरोको लागि ” कमाण्डलु ” बोक्छन्
महात्माहरु नामुद ” दुर्व्यशनी ” छन्
” ड्रग्स ” का खातिर दर्शन बाँड्छन्
जत्ती नाम,रुप र रङका आए पनि
जोगीहरु,-
खरानी धसीटोपलेकै छन्
चिम्टा भिरेकै छन्
कान चिरिएकै छन्
पाखण्डपन !

छाडा साँढेहरु
आजीवन आजाद छन्
बैंशालु फिलुङ्गेबारी माड्न
अभ्यस्त छन् निर्धक्क
रात निदाएको बेला
राँगाहरु फुक्ने / फुकाइने क्रम जारी छ
कलीला / रुपालु- तोरिहरु,तिलहरु…
कुमारी / वयश्क-रायोहरु,सरस्यूँहरु…
सखाप हुँदाछन्, निरन्तर-निरन्तर…
माली झकाएको मौका छोपी
फूल चोर्न तल्लिनहरु
सुनौलो सम्भावनाका कोपिलाहरु निमोठ्न
उद्दत छन्, क्रमश: क्रमश: ।

बिडम्बना !
स-सबुत, स-प्रमाण भेटिएका
अपराधीहरु – बलत्कारीहरु
स-सम्मान स्वतन्त्र छन्
दिन दहाडै-
रङ्गे हात देखिएका चोर-डाकाहरु
खुलेआम फरार छन्
प्रमाणित ज्यानमारा, लुटेरा, ठगहरु,,,
बिना शर्त रिहाई हुन्छन्
यो पाशविकता,-
हेरेर अबोध – तिमी
सुनेर चूप – म
जानेर मौन – हामी
उफ्……………..
विवश तिम्रो नियती
लाचार मेरो नियती
धर्मसंकट हाम्रो नियती
यो जबर्जस्त साझा नियती
तिम्रो…
मेरो…
हामी सबको…।

( १९ फेब्रुअरी २०११ )

नगरीमा

– अनन्त लम्साल

गजल

देख्यौ आज बल्ल कस्तो असन्तोष छ नगरीमा ।
मान्छे ले नै मान्छे लुछे खोसा-खोस छ नगरीमा ।।

सबै आगो पानी को छ ? मारामारी चलेकै छ ,
दया-माया मरिसक्यो , रोषै-रोष छ नगरीमा ।

लुटिँदामा तिम्री चेली एकैघरको चौघेरामा ,
दाजु-भाइ बाबु-छोरा दोषा-दोष छ नगरीमा ।

कहाँ भयो सुनुवाइ तिम्रो नाथे उजूरीको !
तिम्रै आँशु पीइ राज्य मदहोस छ नगरीमा ।

चौबाटोमा बेरोज्गारले आत्मदाह गरि मर्यो ,
जताततै बिद्रोहको शंखघोष छ नगरीमा ।।

बागेश्वरी,नुवाकोट

नदी सरी मेरा आसुँ

-रिमा साइराम (सापकोटा)

गजल

नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी|
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी |

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी|

दुनियाँको अगाडी त देउता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी |