कविता-जबर्जस्त साझा नियती


– गणेश खड्का

माझीको घरमा माछाको कोशेली बोकेर
भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा
ग्वारग्वारती लश्किने लवस्तराहरु
हास्यास्पद !

भट्टिमा रक्सीको सगुन भित्र्याएर
रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा
बेशरम ओईरिरहने गतिछाडाहरु
लज्जास्पद !

के परम्परा धान्न खोजेका हुन् ?
के रितिरिवाज मान्न चाहेका हुन् ?
सधैं,जोगीको घरमा सन्यासी पाहुना
यो रमिता-
देखेर हैरान – तिमी
बुझेर वाक्क – म
भोगेर दिक्क – हामी ।

यहाँ,-
एउटै जातको रक्सीलाई पालै-पालो
झकिझकाउ शो-केशमा सजाइन्छ
नयाँ-नयाँ अनुहारका बोतलहरु फेर्दै
जोगीहरु रक्सीको निम्ती ” फेरी ” लाउँछन्
साधुहरु गाँजा,भाङ,धतुरोको लागि ” कमाण्डलु ” बोक्छन्
महात्माहरु नामुद ” दुर्व्यशनी ” छन्
” ड्रग्स ” का खातिर दर्शन बाँड्छन्
जत्ती नाम,रुप र रङका आए पनि
जोगीहरु,-
खरानी धसीटोपलेकै छन्
चिम्टा भिरेकै छन्
कान चिरिएकै छन्
पाखण्डपन !

छाडा साँढेहरु
आजीवन आजाद छन्
बैंशालु फिलुङ्गेबारी माड्न
अभ्यस्त छन् निर्धक्क
रात निदाएको बेला
राँगाहरु फुक्ने / फुकाइने क्रम जारी छ
कलीला / रुपालु- तोरिहरु,तिलहरु…
कुमारी / वयश्क-रायोहरु,सरस्यूँहरु…
सखाप हुँदाछन्, निरन्तर-निरन्तर…
माली झकाएको मौका छोपी
फूल चोर्न तल्लिनहरु
सुनौलो सम्भावनाका कोपिलाहरु निमोठ्न
उद्दत छन्, क्रमश: क्रमश: ।

बिडम्बना !
स-सबुत, स-प्रमाण भेटिएका
अपराधीहरु – बलत्कारीहरु
स-सम्मान स्वतन्त्र छन्
दिन दहाडै-
रङ्गे हात देखिएका चोर-डाकाहरु
खुलेआम फरार छन्
प्रमाणित ज्यानमारा, लुटेरा, ठगहरु,,,
बिना शर्त रिहाई हुन्छन्
यो पाशविकता,-
हेरेर अबोध – तिमी
सुनेर चूप – म
जानेर मौन – हामी
उफ्……………..
विवश तिम्रो नियती
लाचार मेरो नियती
धर्मसंकट हाम्रो नियती
यो जबर्जस्त साझा नियती
तिम्रो…
मेरो…
हामी सबको…।

( १९ फेब्रुअरी २०११ )

टिप्पणी छोड्नुहोस्