Category Archives: कविता

कविता – मेरी बहिनी देवी

विक्रम सुब्बा

उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो
यसपाली उ हप्ता-दश दिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरुको माझमा भट्याइरहेको जस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलबारीमा फूल टिप्न पसे जस्तो लाग्थ्यो
उसले दुःख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुँगा-थुँगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरु देख्दा
अनुहारको थालीमा जोर दियो बले जस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरु आवत-जावत गर्दा
चोखो कलशले फेरो हाले जस्तो लाग्थ्यो
उसले केही खाने कुराहरु दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारे जस्तो लाग्थ्यो
औँसीको दिन बिदा भएर रूँदै-रुँदै
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली पनि खलङ्गामा फेरि आन्दोलन चलेछ,
चेलीको खसमले गाउँमै वीरगति पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
बहिनीको उज्यालो पखेटा भएर पलाए जस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

– गणेश खड्का

मनले रहरभरी अँगालेका
र सपनाभरी सँगालेका
खुशीका दस्तावेजहरु च्यापेर
एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती
जीवनहरु एक साल मरिहत्ते गर्छन् ।
दशैं,वर्ष दिनपछी एकफेर
छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ
एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर
मनहरु एक बर्खा झरी रुझ्छन्
फेरी दशैं नाङ्गा आङहरुमा काउकुती लाउँदै
खितिती… खितिती … हाँस्छ र तर्किन्छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~
दशैं घडीको सूई झैं
एक फन्को मारेर पुन: पदार्पण गर्छ
एक अन्जुली ‘दशैं’ रौस मान्नका लागि
ज्यानहरु एक हिउँद ठिही कटाउँछन्
दशैं खाली शिरहरुमा रिनको भारी बोकाएर
संस्कृतिको तमासुक गरिदिन्छ
र सुईँकुच्चा ठोक्छ एक वर्षको बाटोमा ।
~~~~~~~~~~~~~~~~~~~~~~~
यसपालिको दशैं,
पूर्वसन्ध्या भूईंचालोले खर्लप्पै निलेपछी
अधिकतम रेक्टरस्केल भन्दा बढी धड्किन्छन् मुटुहरु
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरु
दशैं आउनुपूर्व नै शोकाकुल छन्
लामाटारले आफ्नो पिठ्युँमा बिमान जाक्दा
दुर्घटनामा दिबंगत आफन्त मनहरुको क्षतीमा ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
दशैंको छेकमा,
निमुखा रहरहरु स्वर्गिय हुँदाछन् छरपस्ट
रेगिस्तान र मुग्लानमा दिबंगत खुशीहरु
मलाया र लाहुरमा पुगेर भक्कानिन्छन्
अभावको ढाड सेक्दै बाध्यताका खकन तोक्माहरु
धराने नून-तेलसँगै अक्करको भिरमा ठोकिएर दुख्छन्
भोकमारी,अनिकाल र महङ्गीले आक्रान्त कहर दशैं
थुप्रै रुकुम-रोल्पाहरुमा
क्वाँ … क्वाँ… डाको छोड्छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
यहाँनेर,
संस्कृतिको शंखघोष उराल्दै दशैं भित्रिदै गर्दा
राष्ट्रिय पोशाकले साहादत प्राप्त गरेकोछ
दौरा सुरुवालको बियोगमा
बिधुवा सारी चोलोको दशैं
फुङ्ग उडेकोछ उजाडिएको बस्ती जस्तो
ना’emले यसपाली
मिनिस्कर्टमा ठाँटिएर
हजुरबासँग दशैं को टिका जमरा थाप्लान्
नातीहरुले आशिर्वादमा
धोती बेर्ने हुन् कि टाइ सूट भिर्ने हुन् ?
~~~~~~~~~~~~~~~~~~~~~~
यसपालीको दशैंमा,
महिना नाघीसकेर पनि पैदा हुन नसकेका
जुम्ल्याहा शान्ती र संबिधान
कतै गर्भमै तुहिने पो हुन् कि भन्ने भय पाल्दै
डिले डेलिभरिको प्रसव पिडामा
देश छटपटाइरहेको बेला
साम्प्रदायिकता र बिखण्डनकारी धन्धुकारीहरुले
सद्भाव र भाईचाराको स्तम्भ भात्काउँदै गर्दा
उत्साह र उमङ्गका चङ्गाहरु उड्लान्-नउड्लान् ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
यद्द्यपी,
संस्कृति फगत भतुवालाई बिगौती हुँनुहुदैन
समानता र सकरात्मकताको आँगनमा
मालश्री र मंगल धून गुन्जिनुपर्छ
टिका जमरा मौलाएर परम्परा धान्नुपर्छ
दशैं खसी ले होइन,खुशी ले मान्नुपर्छ
आडम्बरमा होइन,’दशैं’ मनमा आउनुपर्छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~
दशैं को मुखमा,
भवितब्यमा परेका
समस्त / ज्ञात-अज्ञात
स्वर्गिय रहरहरु र दिबंगत खुशीहरुले
चीर शान्ती प्राप्त गरुन् परलोकमा
जिवित आत्मा / सपना / बिपनाहरुले
दिगो शान्ती भोग्न पाउन् इहलोकमा
र सधैं सधैं मान्न पाउन्
संस्कृतिको अग्लो धरोहर
सबैको साझा दशैं ।

कविता -विदेश बस्ने छोरालाई चिट्ठी

बुद्धि प्रसाद उपाध्याय

कविता

पहिले
तिमि थियेउ शान थियो
छोरी चेली बुढा पाका
सबको ठुलो मान थियो
गाउँको धे………रै नाम थियो
साथि संगी सबै जुटथेउ
चाड-पर्ब रसिला हुन्थे
सबका मुहार हँसिला हुन्थे
जिउ डाल कसिला हुन्थे
हात्ती बोक्ने बल जुटथ्यो
बाँसका बोटमा चामल फलाउने
गजव गजवका सिप जुटथे
गाउँमा सहकालई थियो बाबु ,
बैरी आई हुंकार गर्दा
तिम्रा सिंह-गर्जनको फेला पर्दा
अधोबस्त्र भिजाऊंदै पर सर्दा
गर्वले छाती ठुलो हुन्थ्यो बाबु ,
रात विरात सडकमा निर्धक्क डुल्थ्यौं
अहिलेत ,
तिमि गयेउ सबथोकै गयो
सिंगो गाउँनै उराठ लाग्दो भयो
हरिफुपा ,कृष्ण भेना
सन्तमान र शेरधन दाई
पल्लाघरे साँइलो माथ्लाघरे भाई
सबै टामा-टिमी छन्
सम्साँझैँ ढोका थुनी भित्र पस्छन
खिन्न मन लिई बुढा बुढी बस्छन
चाडपर्व आउँछन् जान्छन
बातावरणमा रौनक छैन
कसैमापनि उल्लास छैन
अनुहारमा चमक छैन
आँगनमा आई झुत्रेले खोक्दा
बाटामा भुस्याहा कुकुरले भुक्दा
अपरिचितको घन्टी टेलिफोनले ठोक्दा
मुटु ढुक-ढुक हुन्छ बाबु
दिन भरिता जसै तसै
साँझ नपरिनै सडक सुन शान बन्छ
अस्ति मात्रै
तिमीलाई भाइटिका लगाई दिने
रुपकी राम्री छोरी हाम्री
पल्लाघरे ठुलिको रुपमै धावा बोले
दिन दहाडै बाटामा घेरे
मोटर साइकल हरुले फन फनी बेरे
धन्नै अपहरण गरे बाबु
जसो तसो जोगांयेउ
याँहाबाट भगायेंउ
अन्तै लगेर लुकायेंउ
तर के गर्नुर बाबु
साइँलालाई दिए धेरै हैरानी
घर पोलेर पारे खरानी
बल्ल बल्ल दमकल आई निभायो
मान्छे पनि चिनेउं
तर किटानी जाहेरी दिन हिम्मत भएन बाबु
दण्डहीनता धेरै बढेको छ देशमा
देशका चोक्टा लुछेका छन्
घिउ जुंगामा पुछेका छन्
यस्तै छ बाबु गाउँको खवर
उता सुन्छु
बालुवा पेली तेल झार्छौरे
पसिना बेची छाक टार्छौरे
बिदेशिलाईनै धनि पार्छौरे
विवश छौरे
घर फर्कन मन गर्छौरे
खर्चाभावले जिल्ल पर्छौरे
सुनेर मनै अमिलो हुन्छ बाबु ,
याँहा
तेलखानी सुनखानी
यार्सागुम्बा जडी बुटी
खहरे खोला नदीनाला
उर्बरभुमी हरियो बन
सबै तिम्रै बाटो हेरी बसेका छन्
त्यसैले
फर्क फर्काउ सबै साथि
हुन नदेउ अन्याय देश माथि
बिशेषज्ञहरु झिकाउ
गण्डकीको बालुवा चाल्ने बोटेलाई
हिमाली बुटी चिन्ने भोटेलाई
जंगल रुँगने राउटेलाई
खोलाको बेग चिन्ने माझिलाई
उर्बरभूमिका भूमिपुत्रहरुलाई
सबैलाई संगेट बाबु
सम्पदाको उपयोग गर
देशलाई उन्नत पार
नेपाल आमाको मुहार हँसाउ
आफ्नै देशको सिन्की गुन्रुक
साग सिस्नो अनि सिधो पिठो
गमेर हेरत कति मिठो
अन्तिममा
धेरै धेरै शुभकामना र
तिम्रो सिघ्र फिर्तीको चाहना राख्ने
…………..तिम्रो दुखी बुवा

कविता-जबर्जस्त साझा नियती


– गणेश खड्का

माझीको घरमा माछाको कोशेली बोकेर
भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा
ग्वारग्वारती लश्किने लवस्तराहरु
हास्यास्पद !

भट्टिमा रक्सीको सगुन भित्र्याएर
रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा
बेशरम ओईरिरहने गतिछाडाहरु
लज्जास्पद !

के परम्परा धान्न खोजेका हुन् ?
के रितिरिवाज मान्न चाहेका हुन् ?
सधैं,जोगीको घरमा सन्यासी पाहुना
यो रमिता-
देखेर हैरान – तिमी
बुझेर वाक्क – म
भोगेर दिक्क – हामी ।

यहाँ,-
एउटै जातको रक्सीलाई पालै-पालो
झकिझकाउ शो-केशमा सजाइन्छ
नयाँ-नयाँ अनुहारका बोतलहरु फेर्दै
जोगीहरु रक्सीको निम्ती ” फेरी ” लाउँछन्
साधुहरु गाँजा,भाङ,धतुरोको लागि ” कमाण्डलु ” बोक्छन्
महात्माहरु नामुद ” दुर्व्यशनी ” छन्
” ड्रग्स ” का खातिर दर्शन बाँड्छन्
जत्ती नाम,रुप र रङका आए पनि
जोगीहरु,-
खरानी धसीटोपलेकै छन्
चिम्टा भिरेकै छन्
कान चिरिएकै छन्
पाखण्डपन !

छाडा साँढेहरु
आजीवन आजाद छन्
बैंशालु फिलुङ्गेबारी माड्न
अभ्यस्त छन् निर्धक्क
रात निदाएको बेला
राँगाहरु फुक्ने / फुकाइने क्रम जारी छ
कलीला / रुपालु- तोरिहरु,तिलहरु…
कुमारी / वयश्क-रायोहरु,सरस्यूँहरु…
सखाप हुँदाछन्, निरन्तर-निरन्तर…
माली झकाएको मौका छोपी
फूल चोर्न तल्लिनहरु
सुनौलो सम्भावनाका कोपिलाहरु निमोठ्न
उद्दत छन्, क्रमश: क्रमश: ।

बिडम्बना !
स-सबुत, स-प्रमाण भेटिएका
अपराधीहरु – बलत्कारीहरु
स-सम्मान स्वतन्त्र छन्
दिन दहाडै-
रङ्गे हात देखिएका चोर-डाकाहरु
खुलेआम फरार छन्
प्रमाणित ज्यानमारा, लुटेरा, ठगहरु,,,
बिना शर्त रिहाई हुन्छन्
यो पाशविकता,-
हेरेर अबोध – तिमी
सुनेर चूप – म
जानेर मौन – हामी
उफ्……………..
विवश तिम्रो नियती
लाचार मेरो नियती
धर्मसंकट हाम्रो नियती
यो जबर्जस्त साझा नियती
तिम्रो…
मेरो…
हामी सबको…।

( १९ फेब्रुअरी २०११ )

तिम्रो अभागी प्रेमीको कथा


-हेमन्त परदेशी

कविता

यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l

हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l

तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l

साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l

यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।

तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l

छोरीलाई….


-सुरक्षा श्रेष्ठ

कविता

पोहोर परार जस्तो लाग्छ
मेरो फरियाको टुप्पोमै संसार देख्ने
त्यों कलिलो बच्ची
ताराबाजी लै लै अनि
चीं मुसी चीं खेल्दा
मेरो हातमा
काउकुती लाग्ने 
त्यों सुकोमल औंला
आज अति महत्वपूर्ण
सम्बन्धको औंठी लगाउन जाँदैछ रे!
आँखाको झिम्काई संगै
समय सुटुक्क हात हल्लाई 
त्यों भकुंडे डाँडामा
ओझेल परि पो सकेछ त
झसंग हुन्छ म
अर्को पिरियड को घंटीसंगै/

बधाई र आशिस छ छोरी
पबित्र बन्धनमा बाँधिन जाँदैछौ
त्यों सम्बन्ध
एक ईश्वरीय कल्पबृक्ष हो
नित्य पूजा गर्नु त्येसलाई
माया प्रेमको जल चढाएर
बिस्वासको फूल अक्षता छर्कदै
झलमल्ल पार्नु
आत्मीयताको श्रीखंड लेप लगाऊँदै
समझदारीको नैवेद्य अर्पण गरेर
समर्पणको धुप बत्ती जलाऊँदै
सुबाशित पार्नु 
अनि
आरती गाऊँदै जानु/

ओइलिन, हल्लिन र सुक्न
कदापि नदिनु त्यों बृक्ष लाई
निस्वार्थ प्रेमको टेवा दिई
आस्थाको उकेरा लगाईं
मलजल र गोडमेल गर्दै जानु 
ताकि
आजिबन हराभरा भै
फुल्न सकोस
लहलहाउदै
झांगिन  सकोस/

जीबन हो,
बिजुली चम्किन सक्छ
हुरी लाग्न अनि खडेरी पर्न पनि सक्छ
आपसी माया प्रेमको अगाडी
शिर झुकाई जानेछ्न ती सब/

आशा छ
नयाँ अध्यायसंगै
जाँगर, अध्ययन,
काम र शिपमा पूर्ण बिराम लाग्न दिनेछैनौ//

अनिदो म

-प्रशान्त खरेल

कविता

रातको निस्तब्धतामा
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।

ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ
उसका आयातित
बस्त्रहरू भन्दा पनि
सुन्दर देखिरहेछु म

हावामा फैलिएको
पसिनाको
एकतमासको गन्ध
लट्ठ बनाइरहेको छ मलाइ
खै उसका अत्तरहरू
अचेल किन
उति सुवासिला लाग्दैनन् ।

तिम्रो गठिलो शरिर
ठेला उठेका
हत्केला र पाइतालाहरू
जिस्काइरहन्छन्
उसको सुन्दरतालाइ
टाढै बाट

ताता स्वासहरू
न्यानो सामिप्यताको
भोक जगाउन
सक्षम छन्
चिमोट्दै उसको
न्यानो आलिङ्गन ।

तिम्रो थकित वय
निस्फिक्रि विस्तारामा
तृप्त छ
ललकार्दै उसका
रातका छटपटिहरू

सन्तुष्टिका रेखाहरू
चम्चम् चम्किरहेकाछन्
तिम्रा निधारमा
खिज्याउँदै उसका, मेरा
अनगिन्ति अतृप्त
भोकहरूलाइ, सपनाहरूलाइ ।

उफ्, यो रात
विहानी कहिले होला ?
दियोको तेल
निख्रदैछ
विस्तारै विस्तारै
तैपनि
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।।

(शनिबार, ४ मङ्सिर २०६७)
(जय होस् पाठकिय स्वतन्त्रता ।)

अब म आँशुको कविता लेख्दिन

हेमन्त परदेशी

कविता

जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा
मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु
भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा
दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु
र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका
परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु ।

हो, मैले रुकुम र रोल्पाको बिद्रोह लेखेको छु
खारा र गामको चित्कार बोलेको छु
रित्तिएका काख र पुछिएका सिउँदोका पीडा ओकलेको छु
छुटेका साथ र फुटेका भाग्यका गीतहरु गाएको छु
र, लेखेको छु मेरी रुग्ण आमाको सिङ्गो जीवन कथा l

बिडम्बना ! मेरो कथा कसैले बुझेनन्
असह्य पीडा र वेदना मिश्रीत मेरा चित्कारहरु कसैले सुनेनन्
भालुलाई पुराण सुनाए झैं एकोहोरो भट्ट्याइरहेँ निरन्तर
तर कसैको संवेदना दुखेन मेरा शब्दहरुले / आवाजहरुले
दिन बित्यो, महिना बित्यो, बर्ष बित्यो
र बिते समयरेखाका थुप्रै दशकीय दुरीहरु l

हो म बद्लिएँ र बद्लियो मेरो नाम
कथाकार, उपन्यासकार, कवि, गीतकार
स्रष्टा, सर्जक, साहित्यकार अनेक अल्ङ्कारहरुले सु-शोभित बनेँ म
तर अफसोच ! बद्लिएन मेरी आमाको रुग्ण तस्बीर
उही दुख:, उही पीडा अनि उही अशक्तत्ता
अर्थात बाह्र बर्षमा उन्यू फूल्यो ‘…………को गन्ध’ l

त्यसैले अब म हिजोको कवि रहन चाहन्न
उपन्यासकार, गीतकार र कथाकार पनि हुन चाहन्न
सम्झ तिमी, ती केवल समयको यौटा कालखण्डमा
मेरो अन्धो कलमले गरेको अर्थहीन दस्तखत मात्रै थिए
अर्थात, दाल, भात र डुकुको चिन्ततामा सिर्जना भएका
जीवनका बाध्यात्मक संझौता-पत्र मात्रै थिए l

हो, अब म आँशुको कविता लेख्दिन
दु:ख, दर्द र वेदनाको मसीले जिन्दगीका पानाहरु भर्दिन
किन कि, युगले मलाई यौटा यस्तो दृष्टि दिएको छ
कि, अब मैले जीवनलाई त्यही दृष्टिले नियाल्नु पर्छ
र, सुख, शान्ति र समृद्धिको दीप प्रज्वलन गरेर
जीवनको विजयोत्सव मनाउनु पर्छ ।

अनि, म निर्धो र निस्सारताको बिस्कुन सुकाएर
आफैलाई अर्हर्तारहित र अविपुल बनाउँदिन
किन कि, समयले मलाई यौटा यस्तो चेतना दिएको छ
कि, अब मैले जीवनलाई त्यही अवचेतनले डोर्‍याउनु पर्छ
र, सार्थकता, सादृश्यता र समादृतताको शिखर टेकेर
जीवनको विजयोत्सव मनाउनु पर्छ ।

प्रण

कबिता

नवराज नबोदित

मुटुभरि उर्लिएका मायाका सागरहरु,
मनभरि गुम्सिएका ममताका शब्दहरु
चाहेर पनि तिम्रो सामु पोख्न सक्दिन
किनकि,
धेरै टाढा छु आज बिरानो शहरमा
न तिमीलाई देख्न पाउछु आँखाको अगाडी
न त महशुस गर्न पाउँछु तिम्रो न्यानो स्पर्शको
न हराउन पाउँछु तिम्रो मायालु बाहुपासभित्र
मेरो भाग्यले जित्न सकेन समयलाई,
अनि चुम्न अझै सकेन सफलताको चुचुरो ।
साँच्चै,
कति अभागी रहिछयौ तिमीपनि
एक्लै-एक्लै छटपटिमा कसरी काट्दि हौ दिन रात
कति बिझाउँदो हो सिरानीले
जिस्काउँदो हो बिछयौनाले
अनि रोमान्चित बनाउँदो हो सपनाले ।
यो बेला छेउमा भएको मेरो तस्वीर छातीमा टाँस्दी हौ,
अंगाल्दी हौ
अनि डुब्दी हौ कल्पनामा एकैछिन
मेरो राजा भन्दै…………..
तर त्यो तस्वीर निर्जिब न हो
कसरी बुझ्न सक्छ तिम्रो छटपटिलाई
कसरी सुम्सुम्याउन सक्छ तिम्रो बेदनालाई
कसरी सुन्न सक्छ तिम्रो रुवाईलाई
कसरी पुछ्न सक्छ तिम्रो आँशुलाई
अनि,
कसरी मेटाउन सक्छ तिम्रो प्यासलाई????
यो बेला कति गाह्रो हुँदो हो तिमीलाई आफुलाई संहाल्न
मलाई छल गर्यो भनि मिल्काउँदि हौ त्यो तस्वीरपनि ।
अनि खड्किदो हो फेरी मेरो अभाब धेरै त्यहाँ………….
प्यारि,
मैले कुनै पल चैन संग बिताएको छैन
जब तिमीलाई कल्पना गर्छु,संझन्छु
अनि एक्लाई हराउन थाल्छु कताकता………..
नजर दगुराउछु आकाशतिर
देख्छु पूर्ण चन्द्रमा शिरमाथि
अनि चित्त बुझाउँछु त्यही चन्द्रमा मुनी हामी दुबै छौ भनि ।
यथार्थमा,
शिरमाथि चन्द्रमा भएपनि हामी दुई गोलार्धमा छौ,
तिम्रो र मेरो भौतिक दुरी धेरै टाढा छ ।
तर मलाई बिश्वास गरा प्यारि!
तिमी र म जहाँ भएपनि
तिम्रो आँशु जहाँ खसेपनि,मेरो आँशु जहाँ खसेपनि
आखिर हाम्रो आँशु उहि छ
रुवाई उस्तै छ बिछोडको ।
प्यारि !
अझै तिम्रो आशामा छु भरोसामा छु अनि
मनको दिवारमा तिम्रो माया र तस्वीरलाई सजाईराख्या छु ।
हो प्यारि!
अब कहिले कुर्नु पर्ने छैन तिमीले प्रणय दिवश
चाडै नै फर्की आउनेछु तिमीलाई धेरै खुशी बोकेर
फेरी मुर्झाउने छु ति पुराना स्मृतिहरुलाई तिम्रो बिछयौना भरि,
मायालु बहारहरु ल्याउँदै भुलाउने छु तिम्रो पिडा ,छट्पटिहरु
अनि कसम खानेछु बाहुपासमा कसेर
कहिले नछुटिने जीवनभर
र रंगिन बनाउने छु सारा रातहरु जिन्दगीका………..

लेगुवा,धनकुटा

नोट-साहित्यको बाटो पछयाउँदै गरेको म मनका भाबना हरु पोख्दै गर्दा यो रचना बन्यो यस्लाई कबिता को नाम दिएको छु ।शायद कबिता बिधामा नै यो मेरो पहिलो सिर्जना हो हजुरहरुलाई यो सिर्जना कस्तो लाग्छ ?कबिता बन्न सक्यो सकेन ?शिर्षक छनौट मिल्यो मिलेन ?हजुरहरुको प्रतिकृयाको पर्खाईमा छु ।

तिम्रै तस्बिर

,कविता ,

तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे

मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ?

नयनभरी तिम्रै तस्बिर सजाइ हरे
हुरी बताशा आधीबेहेरी जे जस्तो आए पनि

तिमीले दिएको आशुको उपहारलाई
सधै मैले मेरो दिलमा सजाइ रहे

धेरै माया अनि सम्झना छ तिमीलाई
मलाई धोका दिएर गएता पनि

तिम्रै तस्बिर आज हेरी रहे, हेरी रहे

योगेन्द्र गिरी ,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी – नेपाल
इमेल- yogendra.yogen@yahoo.com