Daily Archives: डिसेम्बर 4, 2010

जिन्दगीको किताब

– आचार्य प्रभा

गजल

जिन्दगीको किताब पढ्न सकिन
सफलतामा अगाडि बढ्न सकिन ।

तगारो नै बनेर आयो समस्या
काठ जस्तै सल्केर डढ्न सकिन ।

फूल बनी मुस्काएँ खै के बिराएँ?
बनेर म काँढा झैं गढ्न सकिन ।

जिन्दगीको बाटोमा एक्लो भएनी
साथ खोज्दै बाटोमा अड्न सकिन ।

धैर्यताको बाँधमा बन्यो तगारो
सफलताको लिस्नोमा चढ्न सकिन ।

पाएर खै ! भएन साकार जीवन
मतलबी भएर लड्न सकिन ।

सोध्ने कसले

गणेश भेटुवाल

गजल

सोध्ने कसले पिंडा छकी, भरिया र डोकालाई !
लाग्छ फाल्न अबेर भयो, समस्याका पोकालाई !!

बलहुने र धनहुनेको, मानोपोली अन्त्य भइ
दुइ-चार गाँस मिल्ने कैले, श्रमिक अनि भोकालाई !

सडक देखि सदन सम्म, श्रमका कुरा चले पनि
कसले देख्यो दुखियाका, हत्केलाका फोकालाई !

गीता छोई बाचा गर्दै, आँखाभरि छारो फाल्छन
के भनेर संज्ञा दिउँ, सधै हुने धोकालाई !

आकाश मार्ग सयर गर्छ, त्यस्कै पछी लावालस्कर
कोहि छैन देख्ने यहाँ, खान नपाइ रोकालाई !

उठ…जाग नवयुवा, देशले तिम्लाई पुकार्दै छ
बडारेर फाल्नुपर्छ, गोलि नभा खोकालाई !!!