Daily Archives: डिसेम्बर 22, 2010

निदरीमै बर्बराउने

– अमर ‘सरोवर’

गीत

त्यो मनले यो मनमा के बैमानी गर्‍यो
निदरीमै बर्बराउने नौलो बानी पर्‍यो ।

चन्द्ररुपी मुहार तिम्रो बोली मिठो लाग्छ
लजाएर मुस्कुरा’को झनै निको लाग्छ
नशालु ती हेराइले लौन के-के गर्‍यो ?
भोक छैन, चैन छैन कस्तो रोग सर्यो

त्यो मनले यो मनमा….

जता हेरुँ यी आँखामा तिमी मात्र देख्छु
मुटु ताछि कलेजीमा तिम्रै नाम लेख्छु
मलाइ भेट्न जून बनी धरतीमा झर्यो
रिसाए’नी जे गरे’नी तिमी मन पर्‍यो ।

त्यो मनले यो मनमा के बैमानी गर्‍यो
निदरीमै बर्बराउने नौलो बानी पर्‍यो ।

कल्याणपुर-२, नुवाकोट
हाल : Desaparkcity, KL.

जमाना यो

अनन्त लम्साल ‘बगर’

गजल

आफैँ नाङ्गो दुनियाँको शर्म खोज्ने जमाना यो ।
आफ्नो छोपि पराईको चर्म खोज्ने जमाना यो ।।

भत्काएर मन्दिरहरु आगो झोसी मस्जिदैमा ,
मुक्ती भन्दै नयाँ-नयाँ धर्म खोज्ने जमाना यो ।

किन पच्थ्यो तिम्रो मेरो निशुल्क यो सेवा-धर्म ,
छाति माथि लात दागी मर्म खोज्ने जमाना यो ।

त्यो मर्यो त के भयो र!राजा बन्ने पालो मेरै ,
लाशहरुको थुप्रो कुल्चि कर्म खोज्ने जमाना यो ।

कत्ति स्वार्थी कत्ति ब्यस्त कस्तो आयो समय लौ !
अरु छोडौँ मलामीको पर्म खोज्ने जमाना यो ।।

बागेश्वरी,नुवाकोट